
कलैया । नेपाल सरकारले गरिबिको रेखामुनी रहेका नेपालका नागरिकहरुको प्रोत्साहन स्वरुप सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिक रुपमा देशका सबै भागमा अघि बढाएको नागरिक समाज सञ्जालका केन्द्रिय अध्यक्ष तिलोत्तम पौडेलले बताउनु भएको छ ।
कलैयामा आयोजित सामाजिक सुरक्षा सम्बन्धि नागरिक समाजका प्रतिनिधिहरुलाई पाँच दिने तालिमको उदघाटन गर्दै यस्तो बताउनु भएको हो । उनले सो सेवालाई सरकारको सहयोगीका रुपमा नागरिक समाजले समन्वय र सहयोग गरि उक्त वर्गलाई प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको बताए ।
कलैया उपमहानगरपालिका मार्फत सामाजिक सुरक्षा सम्बन्धि विद्यमान रहेका नीति, कार्यक्रम एवं बजेटका बारेमा प्रतिनिधिहरुलाई जानकारी दिई आगामी दिनहरुमा सामाजिक सुरक्षा सम्बन्धि सवालहरुको गुनासो र सम्बोधन गर्न सक्ने संयन्त्रको विकास गर्ने उद्धेश्य कार्यक्रमको रहेको जानकारी कार्यक्रमका अधिकृत सरोज आचार्यले बताउनुभयो ।
नेपालको संविधान, २०७२ को धारा ४२ को सामाजिक न्यायको हक अन्तर्गत उपधारा २ मा आर्थिक रुपले बिपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र बिकासका लागि राज्यले पहिलो प्राथमिकता राखी काम गरिरहेकोमा सरकारको कामलाई धन्यवाद समेत पौडेलले बताए ।
राज्यको सेवा सुबिधा प्राप्त गर्नमा लक्षित बर्गहरुले भोगि राखेको सेवा सुबिधाको पहँुचमा हुने समस्याहरुको सामाधानको लागि गैर सरकारी संस्थाको प्रतिनिधिहरुको भूमिका अत्यावश्यक रहने र सरकारको सहयोगिको भूमिकामा नागरिक समाज सदैव रहने कुरा व्यक्त गर्नुभयो ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र सिविसको आयोजना एवं संरक्षण नेपाल, बाराको समन्वय तथा वि सोशियल मोभमेन्ट्स, बेल्जियमको सहयोगमा संचालित तालिम कार्यक्रम संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षता, नेपाल पत्रकार महासंघ बाराका पन्नालाल दास, गैसस महासंघका सदस्य मन्जु सुवेदी, जेष्ठ नागरिक समाज बाराका भरत बहादुर मल्ल समेतको उपस्थित रहेको उक्त तालिम कार्यक्रमको संचालन पारस जयसवालले गर्नु भएको थियो ।