वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रप्रति वीरगञ्जवासीले आक्रोश पोखेका छन् । वीरगञ्जमा पछिल्लो समय बढ्दै गरेको गर्मीले आजित बनेका नगरवासी विद्युत प्राधिकरणको प्रवृतिका कारण झनै आक्रोशित बनेका हुन् ।

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले कुनै सूचना र जानकारी बिना नै विद्युत आपुर्ति बन्द गरेको भन्दै सामाजिक सञ्जालमा पनि थुप्रैले आक्रोश पोखेका छन् । वि.स. २०७३ सालमा विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रकै विरुद्धमा विद्युत सत्याग्रह आन्दोलनको फोटो पोस्ट गर्दै सामाजिक अभियानता एवम् युवा नेता ओमप्रकाश सर्राफले पुनः विद्युत सत्याग्रह थाल्ने र कार्यालय अगाडी धर्ना बस्ने चेतावनी दिएका छन् ।

४० डिग्रि सेल्सियससम्मको तापक्रम हुने वीरगञ्ज तथा मधेशमा अघोषित रुपमा लोडसेडिंग गर्ने र केन्द्रको सम्पर्क नम्बरलाई व्यस्त बनाएर राखेको भन्दै सर्राफले आक्रोश पोखेका छन् । केन्द्रको लापरवाहीले सिमा नाघेको तर्क गर्दै युवा नेता सर्राफले पहिलो चरणको खबरदारीले पनि सुधार नभए कार्यालय अगाडी धर्ना दिन बाध्य हुने चेतावनी दिएका छन् ।

त्यसैगरी वीरगञ्ज निवासी सुशिल पटेलले रिंग गईरहँदा पनि फोन नउठ्ने र लाईन भएको बेलामा पनि भोल्टेज नहुने समस्याबाट आफु पिडित रहेको दुखेसो पोखे । सञ्चारकर्मी आँशु सर्राफले पनि सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको कार्यालयमा धर्ना दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, ‘ विद्युत प्राधिकरण वीरगञ्जको कार्यालयमा भोलि धर्ना दिनुपर्ला, पङ्खा र एसी बन्द गरेर हाकिम साबलाई १ घण्टा कोठामा पनि थुन्नु पर्छ अनि थाहा हुन्छ, उनलाई स्थानियहरुको पीडा ।’ उनले गरेको पोस्टलाई १ सय जनाले समर्थन जनाएर धेरैले कमेन्टमार्फत समर्थन जनाएका छन् ।

कानुनकी विद्यार्थी गङ्गा श्रेष्ठले पनि विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले बिना जानकारी बेला बेला विद्युत आपुर्ति अवरुद्ध गरेर चटक देखाएको टिप्पणी गरेकी छिन् । अँझ विशेष गरी रात पर्ने समयमै लाईन काट्दा अध्ययनसँगै अन्य घरायसी कामहरुमा पनि समस्या हुने गरेको श्रेष्ठको गुनासो छ ।

जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगर कार्य समितिले आइतवार केन्द्रको ध्यानाकर्षण समेत गराएको छ । समितिका महानगर अध्यक्ष लियाकत अलीद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत पटक पटक लाईन काट्ने कार्य यथाशीघ्र रोकेर आम नागरिकको दैनीकिलाई सहज बनाउन माग गरिएको छ ।

साथै मागको बेवास्ता गरि नागरिकको जीवन कष्टकर बनाउने कार्य भएमा थप आन्दोलन र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।नेपाल विद्युत प्राधिकरण वीरगञ्ज केन्द्रका प्रमुख शम्भु कुस्यैत यादवले प्राविधिक समस्याका कारण विद्युत आपुर्ती हुन नसकेको स्विकार गर्दै वैकल्पिक व्यवस्था गरेको हुँदा अब समस्या नहुने बताए ।

वीरगञ्जमा पावरहाउस सबस्टेशन र छपकैया सबस्टेशन गरी २ वटा सबस्टेशनबाट विद्युत प्रवाह भइरहेकोमा छपकैया सबस्टेशनमा प्राविधिक समस्या देखिएपछि शनिवार मात्रै समस्या आएको प्रमुख यादवको प्रतिक्रिया छ । शनिवारदेखि नै गर्मी पनि अत्यधिक बढ्दा सोही दिन समस्या भएपनि अहिले पावरहाउस सबस्टेशनबाटै बैकल्पिक व्यवस्था मिलाएको हुँदा उक्त समस्या नदोहोरिने उनले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर