अजमल अन्सारी,सुनसरी ।सुनसरीको सदरमुकाम इनरुवामा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल इनरुवा नगरकमिटीले दल विभाजन सम्बन्धी अध्यादेश, राजनीति अस्थिरता र कुशासनका विरुद्ध युवाहरुले विरोधमा सडक प्रदर्शन गरेको छ ।
संघको इनरुवा नगर कमिटीको आयोजनामा जिल्लाको सदरमुकाम इनरुवामा अध्यादेशको विरुद्धमा सडक प्रदर्शन गरेको हो । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै “न्याय प्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा“, “जनघाती अध्यादेश फिर्ता गर, कम्फटेबल सरकार मुर्दावाद, मापशे सरकार मुर्दावाद, भुमि आयोग बहाली गर, परमादेश सरकारको चरित्र, अफगानिस्तानमा नेपाली अलपत्र“ नाराका साथ आज संघले पार्टी कार्यालय देखि सदरमुकाम इनरुवाको शान्ति चौक, गोल चौक, बस चौक, महेन्द्र चौक हुँदै पुनः पार्टीको कार्यालय अगाडिसम्म प्रदर्शन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिब तथा प्रदेश सह–इन्चार्ज, कार्यक्रमको प्रमुख अतिथि समेत रहेका देवाननन्द मेहताले परमादेशबाट बनेको सरकार नेपाली नागरिकको नभई देशी विदेशी तत्वहरुको स्वार्थको लागि भएको उल्लेख गर्दै वर्तमान सरकार नेपाली नागरिकको पक्षमा नरहेको जिकिर गर्नुभयो । मुलुकलाई स्थिरता तर्फ लैजानुपर्नेमा वर्तमान सरकारले व्यवस्थालाई नै ध्वस्त बनाउने गरी षड्यन्त्रकारी गतिविधि गरिरहेको आरोप लगाउनुभयो ।
विकास र समृद्धिको नायक एमालेका अध्यक्ष केपी ओली रहेको उल्लेख गर्दै वर्तमान कांग्रेस, माओवादीलगायतका दलहरुको गठबन्धनको सरकारले देश र जनतालाई कुठाराधात गरेको भन्दै आक्रोस जनाउनुभयो ।
ओली नेतृत्वको सरकारले भारतसँग आँखामा आँखा जुधारएर नेपालको गुमेको भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता ल्याउने क्रममा रहेको स्पष्ट पार्दै मेहताले वर्तमान सरकारले नेपाली जनताको पक्षमा भारतविरुद्ध चुइक्क बोल्न नसकेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । महाकाली नदीमा तुहिनबाट तर्ने क्रममा भारतीय एसएसवीले तुहिन काटेर जयसिंह धामी वेपत्ता भएको विषयमा समेत सरकारले भारतसँग बोल्न नसकेको उल्लेख गर्दै सचिब मेहताले वर्तमान सरकार कठपुतली मात्र भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पार्टीका सचिब पर्शुराम यादवले एमालेको नेतृत्वको सरकारले २२ लाख भूमिहिन तथा सुकुम्वासीलाई जग्गा धनिपुर्जा वितरणको अन्तिम तयारीमा पुगेको अवस्थामा देउवा नेतृत्वको सरकारले भूमि समस्या समाधान सम्बन्धी आयोग विघटन गरी लाखौं गरिब जनतामाथि घन चलाएको, आयोग विघटन गरी भूमिहिन जनताको टाउकोमा बुट बजारेको उल्लेख गर्दै गरिब जनताको पक्षमा रगतको खोला बगाउन समेत पछि नपर्ने चेतावनी दिएको छ ।
संघका केन्द्रिय सदस्य पुकार पोखरेलले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारले देशी विदेशी तत्वहरुको लागि कम्फर्टेवल सरकार मात्र भएको उल्लेख गर्दै वर्तमान सरकार नेपाली जनताको नभई भ्रष्टचारी, दलाली, अराजक, हत्यारा तथा विदेशीको कम्फरटेबल मात्र भएको भन्दै आक्रोस पोखेका थिए ।
कार्यक्रममा इनरुवा नगरकमिटीका अध्यक्ष प्रताप भट्टराईले महाकाली नदी तर्ने क्रममा भारतीय एसएसवीले तुहिन काट्दा हालसम्म बोपत्ता भइरहेको सन्दर्भमा समेत सरकार कान धुनेर बसेको उल्लेख गर्दै जयसिंह धामीको न्यायको निम्ति संघले जस्तोसुकै मूल्य चुकाउन समेत पछि नपर्ने सरकारलाई चेतावनी दिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले सुनसरी जिल्ला सदस्य सरिता घिमिरे, राष्ट्रिय युवा संघ सुनसरी जिल्ला सदस्य हरि निरौला, अनेरास्ववियु जिल्ला सदस्य खालिद अन्सारी, आदर्श पोखरेल, महेश थापा मगर अनेरास्ववियु इनरुवा नगर कमिटीका संयोजक असिम आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।