वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा शनिवार एक कार्यक्रमकाबीच निःशूल्क सिलाई कटाई तालिमको उद्घाटन गरिएको छ । वडा अध्यक्ष मनोज कुमार कलवारले औपचारिक रुपमा ३० जना महिलाहरुका लागि एक महिनो सिलाई कटाई तालिमको उदघाटन गरेका हुन् ।
वडाका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने अभिप्रायले सिलाई कटाई तालिमको आयोजना गरिएको अध्यक्ष कलवारले बताए ।
यसअघि पनि आयोजना गरिएको सिलाई कटाई तालिमबाट शतप्रतिशत उपलब्धी भएको ठहर गर्दै यस वर्ष पनि सरिता सिपकला केन्द्रको सहकार्यमा तालिमलाई निरन्तरता दिइएको अध्यक्ष कलवारको भनाई छ ।
तालिम सिकेर महिलाहरुले आय आर्जन गरे आफ्नो निजी खर्चको लागि आफै सक्षम हुने वडाका अधिकृत राजीव गिरीको विश्वास छ ।
एक महिनो तालिम प्रशिक्षण पश्चात ३० जना महिलाहरुलाई सिलाई मेशिनसहित प्रमाणपत्र समेत वितरण गरिने सरिता सिपकला केन्द्रकी अध्यक्ष सरिता गुप्ताले बताईन् ।
कार्यक्रममा राजेश कुमार गुप्ता, वडा सदस्य कौशल किशोर बर्णवाल, दिलमाया श्रेष्ठ, प्रशिक्षक पुनम पटेल, संयोजक अभिजित चौधरी लगायतको उपस्थिति रहेको कार्यक्रम सहयोगी बंशीधर गुप्ताले जानकारी दिए ।