धनुषा । प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युत्गृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युत्गृह र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल थालेको हो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्राविधिक, मन्त्रालयका कर्मचारीसहित केही दिन अघि विद्युत्गृह र छापाखानाको निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि प्राविधिकले समान्य मर्मतसम्भार गरे सञ्चालन गर्न सकिने बताएका थिए । जचुकालिको विद्युत्गृहमा पाँचवटा शक्तिशाली जेनरेटर छन् । उक्त विद्युत्गृह प्रदेश सरकारले सञ्चालन गर्न लागेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले बताउनुभयो । त्यसैगरी जचुकालिको रङ्गिन छापाखाना लामो समयदेखि प्रयोगविहीन रहेकाले सञ्चालन गर्न दिन सङ्घीय सरकारसँग आग्रह गरेको उहाँले बताउनुभयो । विद्युत्गृह र छापाखाना लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घको उद्योग मन्त्रालयमा पत्रचार गरिसकेको मन्त्री साहले बताउनुभयो । “विद्युत्गृह र छापाखाना सञ्चालनका लागि सङ्घीय सरकारलाई आग्रह गरेका छौँ”, मन्त्री साहले भन्नुभयो, “सङ्घीय सरकारले सकारात्मकरूपमा लिएको छ । सङ्घीय सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि यो प्रक्रिया अगाडि बढ्नेछ ।”

प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा बर्सेनि करोडौँ रुपैयाँ छपाइमा खर्च गर्दै आएको छ । आफ्नै छापाखाना भए उक्त खर्च कटौती हुने मन्त्री साहले बताउनुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाका लागि बजेट छुट्याए पनि पहिलो प्राथमिकता जचुकालिको छापाखाना सञ्चालन गर्ने भएको उहाँको भनाइ छ । उहाँका अनुसार उक्त छापाखाना सञ्चालन गर्न नसके प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्नेछ ।रासस

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर