
कलैया । प्रहरीले मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई वीरगञ्जबाट पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।
मियाँले वि.स. २०७६ भदौ २० गते बिहान ०६:२० बजे वीरगञ्ज-४ गणेशमान चोक स्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई प्रहार गरेका थिए ।
घटना लगतै प्रहरी ले पक्राउ गरेका मियाँ विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्नेसम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई जिल्ला अदालत पर्सामा पेश गरेको थियो । अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाएको थियो ।
कोभिड-१९ को पहिलो लहरको प्रकोपका २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो ।
तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा फरार रहेका उनलाई बुधबार वीरगञ्ज-२, ईदगाह चोकबाट पक्राउ गरि बालसुधार गृहमा भुक्तान को लागि पठाइएको प्रहरी ले जनाएको छ ।