भक्तपुर । कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पिसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र पिसीआर परीक्षण किट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई आज हस्तान्तरण गरेको हो ।

सो अवसरमा नगरप्रमुख श्रेष्ठले कोरोना महामारी सुरु हुँदा नेपालमा टेकु अस्पतालसँग मात्रै पिसीआर ल्याब भएकाले परीक्षणको बढ्दो चाप थेग्न नसकेको बेलामा टेकुपछिको नेपालकै दोस्रो पिसीआर ल्याब सञ्चालन गर्ने एक मात्र अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना महामारीको बीचमा पहिलो लकडाउन भएलगत्तै हामीले पिसीआर मेसिन ल्याएर ल्याब सञ्चालनमा ल्याऔं, पिसीआर ल्याब सञ्चालन गर्ने टेकु अस्पतालपछि हाम्रो पहिलो हो, कोरोनाका दोस्रो लहरमा पनि अक्सिजन अभाव झेलिरहेकै बेलामा हामीले यस अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरेर अक्सिजन उत्पादन गर्ने नेपालकै पहिलो अस्पताल हुन सफल भयौँ ।”

यो अवधिमा यस अस्पतालले ३२ हजार जनाको पिसीआर परीक्षण गरेको बताउँदै उहाँले यसअघिको मेसिनले १०० जनाको परीक्षणको रिपोर्ट आउन चार घण्टा लाग्ने गरेकोमा आज आएको मेसिनले १०० जनाको रिपोर्ट २० मिनेटमै दिनसक्ने उच्च प्रविधिको भएकाले अव पिसीआर परीक्षणमा चिन्ता लिनुनपर्ने बताउनुभयो ।

निजी क्षेत्रले पिसीआर परीक्षण शुल्क रु दुई हजारदेखि दुई हजार ५०० सम्म लिइरहेको अवस्थामा यस अस्पतालले रु एक हजारमा मात्र परीक्षण गरिरहेको भन्दै उहाँले कोरोनाको तेस्रो लहरको तयारीमा अस्पताल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनासँग पहिलो र दोस्रो लहरमा निकै जुँधेर थिमिका मात्रै नभइ देशभरबाट आएका बिरामीको सेवा दिन सफल भयौं, कोरोनाको तेस्रो लहर आउने विज्ञहरुले बताइरहँदा हाम्रो अस्पतालमा त्यसको तयारी गरिसकेका छौँ, १७ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष, जनशक्ति र १०२ श्ययाको अस्पताल तयारी अवस्थामा छ ।”

रोटरी मध्यपुरको समन्वयमा रोटरियनको सहयोगमा प्राप्त ६ वटा डायलोसिस मेसिनबाट सेवा सुरु गर्ने बताउँदै उहाँले रोटरी मध्यपुरले अस्पताललाई निकै सहयोग पु¥याएको बताउनुभयो ।

रोटरी क्लब अफ यलःका अध्यक्ष डा सुमित्रा मानन्धरले मानवीय सेवामा धेरै काम गर्दै आएको रोटरी क्लब र मध्यपुरथिमी नगरपालिका बीचको सम्बन्ध निकै राम्रो रहेको चर्चा गर्नुभयो । अस्पतालमा यो मेसिन सञ्चालनका लागि जनशक्तिलाई तालिम आवश्यक रहेको औल्याउँदै मेसिनको उचित प्रयोगसँगै यसको बेलाबेलामा मर्मत सम्भार नभए अर्थ नहुने भएकाले मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो ।

रोटरी ग्लोबल ग्रान्टका दिलेन्द्रराज श्रेष्ठले रोटरीको सहयोगमा ललितपुरमा करिब रु दुई करोडको लागतमा पहिलो ब्लड बैंक स्थापना गरेको बताउँदै अब मुटु रोग अस्पताल निर्माणको चरणमा रहेको बताउनुभयो । त्यसको लागि जग्गा प्राप्त भइसकेकाले अस्पताल निर्माणमा विभिन्न देशको रोटरी क्लबको सहयोग रहने बताउनुभयो । मुटु अस्पताल निर्माणका लागि मध्यपुरथिमि नगरपालिकासमेतको रु ५० लाखको सहयोग अतुलनीय रहेको भन्दै उहाँले स्वाथ्य क्षेत्रमा हातेमालो गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा रोटरी ग्लोबल ग्रान्टका कार्यक्रम संयोजक प्रमोद सागर प्रधानले कोभिड महामारीमा ग्राण्टले धेरै देशमा सहयोग गरेको र त्यसै क्रममा नेपाललाई पनि सहयोग गर्दै आएको बताउनुभयो । ग्रान्टले विभिन्न देशको स्वास्थ्य, खानेपानी र सरसफाइको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विभिन्न देशको रोटरी क्लब र रोटरीयनको सहयोगमा सङ्कलन रकमले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

त्यसअवसरमा अस्पतालका कार्यकारी निर्देशक डा ज्ञानकृष्ण कायस्थले रोटरीको सहयोगलाई अस्पतालले मानवीय सेवामा निःस्वार्थ भावनाले प्रयोग गर्दै आएको बताउनुभयो । (रासस)

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर