कलैया । कलैया सहित तराई क्षेत्रमा अहिले छठपर्वको रौनक छ । पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ ।
यसअघि बर्तालुले कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ भनिन्छ ।
यसअघि गत आइतबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबा अरबाइन’, सोमबार पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ र हिजो मङ्गलबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।