
काठमाडौँ । राष्ट्रिय जनगणनाका लागि सभामुख अग्निप्रसाद सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गरिएको छ । जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा रामकुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहितको टोलीले आज सभामुख निवास लैनचौर पुगेर उहाँको विवरण सङ्कलन गरेको हो ।सो अवसरमा सभामुख सापकोटाले जनगणनामा सहभागी भइ साँचो विवरण उपलब्ध गराउन सबैमा आह्वान गर्नुभएको थियो । विभागका महानिर्देशकसहितको टोलीले यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण सङ्कलन गरेको थियो । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना यही कात्तिक २५ देखि आगामी मङ्सिर ९ गतेसम्म हुँदैछ । (रासस)