कलैया । बाराको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र पछिल्लो समय कामविहीन बनेको छ । प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको उक्त तालिम केन्द्र कामविहीन जस्तै बनेको छ ।
विशेषगरी स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापित उक्त केन्द्र पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण भौतिक उपस्थितिमा विविध प्रकारका तालिम हुन नसक्दा केन्द्र कामविहीन बनेको हो । यद्यपि अधिकारीहरुले कोरोना संक्रमण को त्रास देखाउदै भौतिक उपस्थितिमा हुनुपर्ने विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन हुन नसकेको बताए । कोरोना संक्रमणको सहज अवस्थासँगै यस्ता तालिमजन्य कार्यक्रमले निरन्तरता पाउने केन्द्रले जनाएको छ । तालिम केन्द्रमा हाल केन्द्र निर्देशक पद रिक्त छ भने वरिष्ठ जनस्वास्थ्य प्रशासक पदसमेत रिक्त छ ।
उक्त केन्द्रको काम आवश्यकतानुसार स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्नु हो । साविकको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका रूपमा स्थापित उक्त कार्यालय पछिल्लो संरचनाअनुसार प्रदेश नं २ अन्तर्गत सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य तालिम केन्द्रका रूपमा रहिआएको छ ।