वीरगञ्ज । पोखरिया अस्पताललाई व्यवस्थापन नगरेको भन्दै लोकतान्त्री समाजवादी पार्टी (लोसपा) ले आइतवार बिहान प्रदर्शन गरेको छ । लोसपाका नेता नेजामुद्दीन समानीको नेतृत्वमा स्थानीय तथा प्रदेश सरकारको विरुद्धमा प्रदर्शन गरिएको हो ।
प्रदेश सरकारले ५० बेडको अस्पताल घोषणा गरेपनि स्थानीय सरकारले व्यवस्थापनमा लापरवाही गरेको भन्दै ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गरिएको नेता समानीले बताए । यसअघि पनि प्रेस विज्ञप्ती तथा मौखिक जानकारी गराउँदासमेत सम्बन्धीत निकाल अस्पतालको व्यवस्थापनको सम्बन्धमा गम्भिर नभएको नेता समानीको आरोप छ ।
बिमा गराएकाहरुलाई औषधी उपलब्ध नगराएको, प्रदेश सरकारले उपलब्ध गराएको उपकरण सञ्चालन गर्न स्थानीय सरकारले असहयोग गरेको, बिरामीहरुलाई भर्ना नगरेको लगायतका समस्याहरुको अविलम्ब समाधानतर्फ पहल गर्नुपर्ने माग नेता समानीले गरेका छन् ।
पोखरिया अस्पतालको विकास र जनमुखी सेवा प्रवाहको माग गर्दै भएको प्रदर्शनलाई वेवास्ता गरेमा स्थानीय र प्रदेश सरकारको विरुद्धमा थप सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी पनि नेता समानीले दिएका छन् । यता पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारले भने आफुले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने कामको लागि पहल गरीरहेको दावी गरेका छन् ।







