कलैया । सरकारले नेपाल प्रहरी मा थप तीन वटा पद थप्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो ।
तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दारको पद थपिएको हो । स्वीकृत भएको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।
यो कार्यान्वयनमा आएसँगै प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप हुनेछ । नेपाल प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवल्दारमा बढुवा हुन लामो समय लाग्ने गरेको थियो ।