कलैया । प्रदेश २ को नाम र स्थायी राजधानी मतदान बाटै टुंगो लगाइने भएको छ ।
प्रदेशसभामा पेश भएको प्रस्तावहरुमध्ये कुनैमा पनि सहमती नभएपछि अब मतदान बाटै टुंगो लगाइने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रदेश २ का सभामुख सरोजकुमार यादवको अध्यक्षता मा आइतबार बसेको सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।
सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । छलफलमा कुनै पनि प्रस्तावमाथि सहमति नजुटेको बताइएको छ ।
माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने कुरामा सबै संसदीय दलसँग सहमति भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताए ।







