काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताउनुभएको हो । “कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबैको सहकार्य र एकताबाट नै कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।”

प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको उललेख गर्दै आफूले सरकारको नेतृत्व गरेपछि कोभिड–१९ विरुद्धको खोप लगाउने सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको र खोप लगाउन योग्य नागरिक सबैलाई पूर्ण मात्राको खोप लगाउने गरी सरकार अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री देउवालाई नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागले बुझाएको ध्यानाकर्षण पत्रमा जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्न, खोपकेन्द्रको सङ्ख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन, राज्यका निकाय एवम् कूटनीतिक क्षेत्रको सक्रियता बढाउन, खोपको आपूर्ति तथा प्रयोगका प्रबन्ध मिलाउन र पर्याप्त भण्डार केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरिएको उल्लेख छ ।

तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ विपत् व्यवस्थापन कार्य सञ्चालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिङ सेन्टरको व्यवस्थापन गरी सञ्चालन गर्न, थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्न, स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्तमात्रामा उपलब्ध गराउनसमेत एमालेले सरकारसँग आग्रह गरेको छ ।

यसैगरी ध्यानाकर्षण पत्रमा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राज्यको सबै संयन्त्र तथा राजनीतिक दललाई समन्वयात्मक रुपमा परिचालन गर्र्न, सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजलाई पनि समन्वयात्मक रुपमा परिचालन गर्न, पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, परीक्षण, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्न सरकारसँग आग्रह गरिएको छ ।

यस्तै आवश्यकताअनुसार पुनःस्थापना केन्द्र सञ्चालन गर्न, औषधि, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्न, अस्पतालको स्तर वृद्धि गरी थप सेवा सञ्चालन गर्न, बुस्टर डोजको व्यवस्था तत्काल मिलाउन, राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउनसमेत एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । रासस

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर