कलैया । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै बारा जिल्लाको सदरमुकाम कलैयामा म्यादी प्रहरीको आवेदन दिने को लर्को लागेको छ ।
नेपाल प्रहरीको मानवस्रोत एवम् प्रशासन विभाग भर्ना छनोट महाशाखाले सूचना जारी गर्दै आज देखि म्यादी प्रहरी भर्नाका लागि आवेदन भर्न आह्वान गरेको थियो ।सुरु दिन नै म्यादी प्रहरी को भर्नामा फारम भर्ने को कलैया स्थित जिल्ला प्रहरी कार्यालय बारा मा उल्लेख्य उपस्थिति थियो । आज फारम भर्न आउनेको महिलाको सङ्ख्या भने नियून देखिन्छ । पुरुषहरु भने हरेक उमेर समूहका छन् । बारा जिल्लामा २ हजार ५ सय २८ जना म्यादी प्रहरी छनोट हुने छन् । बारामा १६ वटा स्थानीय तह छन् ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी रु छ हजार, यातायात खर्चबापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।