कलैया । जिल्ला प्रशासन कार्यालय बाराले हातहतियार बुझाउन निर्देशन दिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल ले एक सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार प्रहरी ईकाइहरुमा चैत मसान्तभित्र बुझाउन निर्देशन दिनु भएको हो ।
गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको सिडियो कटुवालले बताए ।
उनले प्रहरी कार्यालयमा बुझाएका हातहतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिने जनाएका छन् । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।