काठमाडौ । सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको जनाइएको छ । समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य हुनुहुन्छ भने माओवादीबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहनुभएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको ढाँचाबारे आजको बैठकमा छलफल हुने बताइएको छ । यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो ।