
साजिर मन्सूर
कलैया,असार ७
तनावमुक्त जीवन यापनका लागि योग जरुरी रहेको रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रीज प्राली का डाईरेक्टर राजकुमार गाडियाले बताएका छन । अन्तरास्ट्रिय योग दिवसका अवसरमा चिनी मिलका कर्मचारीहरुलाई सामुहिक योग प्रशिक्षण दिदै गाडियाले यस्तो बताएका हुन ।
गाडियाले प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुने गरेको स्मरण गराउदै आजको आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका हामी सबै नेपाली जनताले यसको महत्व बुझ्नुपर्नेमा जोड दिए । गाडियाले मिलका सबै कर्मचारीलाई यो दिवसलाई केवल दिवसका रुपमा मात्र न मनाई हरेक दिन योग गर्न आग्रह गरेका छन । योगले गर्दा सबै जना स्वस्थ भएर दैनिक जीवन स्वस्थ भएर जिउने समेत बताए । गाडियाले सबै कर्मचारीका लागि मिल प्रशासनले योगका लागि आवस्यक बाताबरण बनाउने समेत घोषणा गरेका छन । सोही अवसरमा ईक्स्क्युटिभ डाईरेक्टर शैलेन्द्र गुप्ताले सबै कर्मचारी शारीरिक रुपले मात्रै नभैइ मान्सिक रुपले समेत स्वस्थ रहन योग जरुरी रहेकाले यसका लागि सबै सकारात्मक भएर दैनिक योग गर्न जरुरी रहेको बताए ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । नेपाल सरकारले ०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकरसंक्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ ।