साजिर मन्सूर
कलैया,१३ वैशाख २०८०

बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन ।

यादवले २८ हजार ४१४ मत प्राप्त गरी विजयी भएका हुन । उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गर्नुभएको छ । यादव पाँच हजार ८० मतको अन्तरमा विजयी हुनुभएको हो । नेता यादवले मतगणनाको सुरुवातदेखि नै अग्रगता कायम गर्नुभएको थियो ।

तेस्रो स्थानमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएका हुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा रहे ।

एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो।

त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो । वैशाख १० गते भएको उपनिर्वाचनमा ६५.६६ प्रतिशत मतदान भएको थियो। यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।

वैशाख १० गते भएको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यादव विजयी हुने एक्लो उम्मेदवार हुनुहुन्छ । तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले र रवि लामिछाने विजयी भइसक्नु भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर