सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राजविराज नगरपालिका–१० बिरौलमा स्थापना गरिएको प्रतिष्ठानको आज शिलान्यास गर्नुभएको हो । प्रतिष्ठानको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले सप्तरीमा सर्वाधिक ठूलो परियोजनाको स्थापनाले उच्चस्तरीस्य शिक्षा र स्वास्थ्य प्राप्त गर्ने स्थानको रूपमा विकास हुने बताउनुभयो ।
प्रतिष्ठानको स्थापनासँगै स्तरीय शिक्षा र स्वास्थ्यको अवसरले आर्थिक गतिविधि तीव्र हुनुका साथै पर्यटकीय गन्तव्य बन्ने उहाँले बताउनुभयो । मुलुकमा रहेका अनेकौँ प्रकारका विविधतालाई सम्पत्ति र सम्पन्नताको रूपमा लिँदै सबै मिलेर गरिबी, पछौटेपन हटाउनुपर्ने तथा विकासका काममा एकजुट हुनुपर्ने प्रम ओलीले बताउनुभयो ।
तोकिएको समयमा र गुणस्तरीयरूपमा प्रतिष्ठानको काम सक्न स्थानीय तह, जनप्रतिनिधि र जनसमुदायसँग प्रम ओलीले सहयोगको अपेक्षा गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेश नं २ का लागि सुनकोशी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोशी कमला डाइभर्सन निर्माण गरी सिँचाइ सुविधा पु¥याउने र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।
‘एक प्रदेश एक प्रतिष्ठान’ निर्माण गर्ने लक्ष्यअनुसार सप्तरीमा प्रतिष्ठानको शिलान्यास गरिएको बताउनुहुँदै प्रम ओलीले प्रतिष्ठान स्थापनाले प्रदेश नं २ र छिमेकी जिल्लाका साथै भारतीय नागरिक स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापनाले देखिने र लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाउनुभयो । सप्तरीमा अहिलेसम्मका संरचनाभन्दा स्तरीय, भूकम्प प्रतिरोधात्मक, बलियो र आकर्षक संरचना हुने भन्नुहुँदै उहाँले बाहिरी पक्षमा मात्र आकर्षक नभई आन्तरिकरूपमा सेवा पनि बलियो हुने बताउनुभयो ।
प्रतिष्ठानले रोजगारीको अवसर सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने बताउनुहुँदै प्रम ओलीले यसले प्रविधिको विकाससँगै विकासप्रति विश्वास बढाउने बताउनुभयो । राजविराज–रुपनी सडकको विस्तार, औद्योगिक क्षेत्रको विकास, पुरातात्विक महत्वका ऐतिहासिक मठ, मन्दिर, धरोहरको संरक्षण, सीमा सुरक्षा, डुबानबाट बचाउने कार्य सरकारले गरिरहेको बताउनुभयो । उहाँले हिमाल, पहाड, तराई तथा पूर्वदेखि पश्चिम सबैतिर विकास गर्ने र सबै खाले समस्या समाधानमा सरकार लागेको बताउनुभयो ।
भ्रममा परेर दिशाविहीन भएर देशको विकास उन्नतिमा आफूलाई पछाडि पार्न नहुने भन्नुहुँदै प्रम ओली भन्नुभयो, “सहिष्णुता, सहअस्तित्वका साथ साझा समस्या समाधान गर्दै विकास, निर्माण र गुणस्तरीय उत्पादनमा एक भएर अगाडि बढे विकास सम्भव छ ।” सोही कार्यक्रममा राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले प्रतिष्ठानको शिलान्यास गर्नुभएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुहुँदै ऐतिहासिक काम सम्पन्न गराउन नगरवासीको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्रिपरिषद्को विसं २०७५ पुस १६ गतेको निर्णयले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । जग्गा विवाद समाधान भई जेठ ३१ गते ६१ बिघा छ कट्टा जग्गा प्राप्त भएपछि शिलान्यासको कार्यक्रम अघि बढेको हो । कूल रु ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा रोहित पोखरेलले जानकारी दिनुभयो ।रासस